(१) दफा २१ बमोजिम मान्यता प्रदान गरिएको शिक्षण संस्थाले निर्धारण गरेको पाठ्यक्रम, भर्नाका शर्त तथा अन्य आवश्यक पूर्वाधार र मापदण्ड सम्बन्धी कुराको मूल्याङ्कन र पुनरावलोकन गर्दा उपयुक्त नभएको ठहरिएमा परिषद्ले त्यस्तो शिक्षण संस्था सञ्चालनको स्वीकृति खारेजीका लागि सिफारिस सहितको प्रतिवेदन नेपाल सरकार र सम्बन्धित शिक्षण संस्थाले सम्बन्धन प्राप्त गरेको विश्वविद्यालय वा संस्था समक्ष पेश गर्नेछ ।
(२) उपदफा (१) बमोजिम परिषद्बाट पेश हुन आएको सिफारिस सहितको प्रतिवेदनउपर सम्बन्धित सम्बन्धन प्रदान गर्ने विश्वविद्यालय वा संस्थाले आवश्यक जाँचबुझ गरी आफनो राय नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम परिषद्ले पेश गरेको प्रतिवेदन र उपदफा (२) बमोजिम सम्बन्धित विश्वविद्यालय वा संस्थाले पेश गरेको राय बमोजिम नेपाल सरकारले परिषद्संग
परामर्श लिई त्यस्तो शिक्षण संस्था सञ्चालनको स्वीकृति खारेज गर्न सक्नेछ । यसरी शिक्षण संस्था सञ्चालनको स्वीकृति खारेज गरेको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।
(४) दफा २१ बमोजम मान्यता प्रदान गरिएको शिक्षण संस्थाले सञ्चालन गरेको कुनै परीक्षामा अनियमितता भएको पाइएमा त्यस्तो परीक्षाको आधारमा प्रदान गरिएको नर्सिङ्ग विषय सम्बन्धी डिग्री, डिप्लोमा, प्रमाणपत्र वा अन्य उपाधि रद्द गर्नको लागि परिषद्ले नेपाल सरकार समक्ष सिफारिस गर्नेछ ।
(५) उपदफा (४) बमोजिम सिफारिस प्राप्त हुन आएमा नेपाल सरकारले तत्सम्बन्धमा आवश्यक जाँचबुझ गरी त्यस्तो शिक्षण संस्थाले कुनै खास मितिपछि प्रदान गरेको नर्सिङ्ग विषय सम्बन्धी डिग्री, डिप्लोमा, प्रमाणपत्र वा अन्य उपाधि रद्द गर्न सक्नेछ । यसरी रद्द गरिएको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।